फाइल तस्वीर


काठमाडौं – नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । देशकै एकमात्र पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको सरकारी स्वामित्वको संस्था नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पेट्रोलियम पदार्थका खपतमा कमी आएको जनाएको छ ।

यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।

२०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकि २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ ।

तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ । रासस