फाइल तस्वीर


लमजुङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई २० वर्षसम्म लगिने बताएका छन् । मङ्सिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा लमजुुङको राइनासमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो दावी गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन । कतिपयले भन्छन् चुनावपछि अर्कै हुन्छन् कि भनेर । त्यस्तो हुँदैन । उपलब्धिमाथि खतरा रहेसम्म जाओस् । अब अर्को प्रयोग हुँदैन’ भन्दै ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु । अब त्यो ज्ञान यताउता हुनेवाला छैन । यही गठबन्धनलाई लिएर जाने हो’– जिकिर गर्नुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले ‘आफू र नेपाली काङ्ग्रेसका एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावीसभामा गएको’ भन्दै ‘सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको’ दाबी समेत गर्नुभयो । एकमात्रै निर्वाचन क्षेत्र रहेको लमजुङ जिल्लामा गठबन्धनका तर्फमा माओवादी केन्द्रमा महासचिव एवम् पूर्वमन्त्री देवप्रसाद गुरुङ उम्मेदवार हुनुहुन्छ भने एमालेका तर्फबाट गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उम्मेदवार हुनुहुन्छ ।