तस्वीरः नेपाल क्रिकेट सङ्घ

काठमाडौं – काठमाडौंमा आजबाट सुरुभएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाहुना टोली यूएईले नेपाललाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको सुरुवात गरेको यूएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६३ रन बनाउँदै नेपाललाई दुई सय ६४ रनको लक्ष्य दिएको हो ।

टस हारेको ब्याटिङको सुरुवात गरेको पाहुना टोली यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाएका थिए । ७३ बल खेलेका उनले ७ चौका प्रहार गरे । यसैगरी आफ्नो टिमका लागि मुहमद वासिमले ४४, भ्रित्य अरभिन्दले ४०, एलिसन साराफुले २९, अहमेद राजाले अविजित २७, आयन हफ्जल खानले २६ र बसिल हामिदले १४ रनको साझेदारी गरेका थिए ।

यता बलिङतर्फ नेपालका लागि गुलशन झाले दुई विकेट लिंदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए । यूएईविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालका अर्जुन साउद र हरिशङ्कर साहले डेब्यु गर्नुभएको छ । अर्जुनले यसअघि टी–२० अन्तर्राष्ट्रिय खेलबाट नेपालका लागि डेब्यु गरिसक्नुभएको थियो । हरिशङ्करको नेपालका लागि राष्ट्रिय टोलीमा डेब्यु हो ।

नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ । नेपाल र यूएईबीच यसअघि भएका ६ वटा एकदिवसीय संस्करणमा नेपालले दुई खेलमा जित निकालेको थियो भने यूएईले चारमा जित निकालेको थियो । नेपाल आजको खेलमा जितको खोजीमा मैदानमा उत्रिएको छ ।