दोहा – साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ ।

‘अनलाइन फाराम भर्दा केही त्रुटिहरू भएको पाइएको छ। त्यसलाई सुधार गर्नुपर्ने खाँचो देखियो। राहदानी र नागरिकताको राम्रो क्वालिटी स्क्यान गरेर मात्रै अपलोड गर्नुहोला। आफ्नो नाम र थर लेख्दा ठिकसँग लेख्नुहोस् र आफ्नो स्थानीय निकायको नाम र वडा नं सही लेख्नुहोस् । अरू विवरणमा पनि कुनै त्रुटि हुन नदिनुहोस् ।’ दूतावासले प्रकाशन गरेको सूचनामा भनिएको छ ।

अनलाइन फाराम भरिसकेपछि त्यसलाई प्रिन्ट गरेर अन्य आवश्यक कागजातसँगै लिएर आउन भनिएको छ । राहदानी नवीकरणको लागि अनलाइन फाराम आफैँ भर्ने वा आफ्नो कम्पनीको सहयोग लिएर भर्ने वा आफ्ना साथीभाइ÷अन्य कसैको सहयोग लिएर भर्ने वा नेपालमा रहेका आफ्ना साथीभाइ वा परिवारको मदत लिएर भर्ने वा अरू कसैलाई लगाएर भराउन सकिने दूतावासले जनाएको छ ।

अनलाइन फाराम नभरीकन वा प्रि–इनरोलमेन्ट नगरी आउने सेवाग्राहीको राहदानी नवीकरण आवेदन लिन दूतावास बाध्य नहुने जनाएको छ । यो नियम लागू भए दूतावासको अहिले कै श्रोत साधनले अहिले भन्दा छिटो र धेरै सेवाग्राहीलाई सेवा दिन सकिने जनाइएको छ ।