काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार सेयर बजार ० दशमलव ५६ प्रतिशतले ओरालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार १ दशमलव २३ प्रतिशतले घटेको सेयर बजार आइतबार १० दशमलव ५४ अङ्कले घटेर १८८३ दशमलव १६ विन्दुमा रोकिएको छ ।

आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थिर रहेको छ । २० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालो लागेको छ ।

होटल तथा पर्यटन उपसूचक ० दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।