फाइल तस्वीर


कालीकोट – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादीे) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार ल्याउन, देशको दिगो विकास गर्न र युवाको रोजगारी बढाउन एमालेलाई जिताउन मतदातासँग आग्रह गर्नुभएको छ । कालिकोटमा आज आइतबार आयोजित चुनावीसभामा बोल्दै एमाले अध्यक्ष ओलीले मतदातासँग आग्रह गर्नुभएको हो ।

कालीकोटको रास्कोटमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ‘राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षाका लागि एमालेलाई भोट दिएर एमाले नेतृत्वको सरकार गठनका लागि सहयोग गर्न अपिल गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आयमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्रगतिमा लगेको भन्दै देश र जनताको हितमा काम गर्न थालेपछि विरोधी शक्तिहरुले एमालेविरुद्ध षडयन्त्र गरी सरकार ढालेको आरोप लगाउनुभयो ।
चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले ‘जनतालाई मन्त्री होइन, विकास चाहिएको छ । खानेपानी, सडक, अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ । यसका एमालेको नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने दावी गर्नुभयो ।