फाइल तस्वीर

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताउनुभएको छ । पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उहाँले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताउनुभएको हो । “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उहाँले भन्नुभयो “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।”

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उहाँले बताउनुभयो । पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उहाँले सुनाउनुभयो । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उहाँको भनाइ थियो ।