फाइल तस्वीर


वासिङटन – विश्व भू–राजनीति दुई धु्रवमा विभाजित भैरहेको बेला शक्तिशाली दुई राष्ट्राध्यक्षबीच आगामी साता भेटवार्ता हुनेभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी सोमबार इण्डोनेसियाको बालीमा भेटवार्ता हुन लागेको हो ।

यी दुई समकक्षीबीच पहिलो पटक भौतिक रुपमा भेटहुँदैछ । सन् २०२० मा जो वाइडेन अमेरिकी राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पहिलोपटक भौतिक रूपमा भेट हुन लागेको हो । विश्वका दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला आगामी हप्ता हुने भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच विश्वका धनी देशहरुको समूह जी–२० सम्मेलनमा सहभागी हुनेक्रममा आउँदो सोमबार बालीमा भेटवार्ता हुनेछ । यी दुई समकक्षीबीच विशेषगरी ताइवानको विषयमा छलफल हुने बताइएको छ ।

चीन र ताइवानबीच लामो समयदेखि विवाद रहँदै आएको छ । चीनले ताइवानलाई आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएको छ । तर ताइवानले भने आफ्नो सार्वभौमिकता आफूमै रहेको बताउँदै आएको छ । केही समय अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्धमा थप दरार उत्पन्न भएको थियो । अमेरिकाले ताइवानको पक्षमा वकालत गर्दै आएको छ ।

केही महिना अघि चीन र ताइवानबीचको विवाद युद्धमा परिणत हुने अवस्थामा पुगेको थियो । अमेरिकाले सो तनावपछि चीनको कम्युटर चिप प्रविधिमा प्रतिबन्धसमेत लगाएको थियो । त्यसले चीनको निर्यातमा आधारित अर्थतन्त्रमा अमेरिकाले लगाएको प्रतिबन्धको कारण विशेष गरी मोबाइल फोन तथा अरू विद्युतीय सामग्रीको उत्पादनमा प्रतिकुल प्रभाव परेको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा भेटवार्ता तय भएको पुष्टि गर्दै भने, ‘पक्कै पनि हामीले ताइवानबारे छलफल गर्नेछौं र, सो वार्ताको क्रममा सबै विषयमा हाम्रो रेडलाइन प्रस्तुत गर्ने छौं ।’ यसले चीनलाई तनाव कम गर्ने उपायबारे निर्णय लिन सजिलो हुने उनले बताए । तर अमेरिकी राष्ट्रपति वाइडेनले ताइवानका सम्बन्धमा अमेरिकी नीतिमा कुनै पनि आधारभूत परिवर्तन नगर्ने बताएका छन् ।

यता चीनले पनि स्वाधिन राज्य सञ्चालन गरिरहेको ताइवानलाई आफ्नो भागका रूपमा लिँदै आएको र चीनमा गाभिनु पर्ने दावी गर्दै आएको छ । ताइवान भने आफू सार्वभौम र स्वतन्त्र देश रहेको बताउँदै आएको छ । चीनले ताइवानमाथि आक्रमण गरेको अवस्थामा अमेरिकाले ताइवानको रक्षा गर्ने बाइडेनले बारम्बार बताउने गरेका छन् । यस्तो परिवेशमा हुन लागेको दुई शक्तिशाली राष्ट्राध्यक्षबीचको भेटवार्तालाई अन्तर्राष्ट्रिय भू–राजनीतिमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।