फाइल तस्वीर


सुनसरी– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको आरोप लगाउनु भएको छ । सुनसरीको धरानमा आज शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले उक्तसभामा बोल्दै आगामी निर्वाचनपछि जनता समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्ने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमालेलाई छोडेकोले दिन दशा बिग्रिएर सत्ता गठबन्धनतिर लागेको भन्दै लोसपा अब राष्ट्रिय पार्टी बन्न नसक्ने दावीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हामीसँग अलिक समय थियो, ककसको इशारामा के के भयो, कसो भयो उहाँहरुले जान्ने कुरा भयो, छोडेर गठबन्धनतिर लाग्यो’, ओलीले भने, ‘दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ ! गठबन्धनतिर लाग्यो अव राष्ट्रिय पार्टी रहँदैन । एउटा दुइटा सिट आयो भने सारै ठुलो कुरो । र, राष्ट्रिय पार्टी लोसपा बन्दैन । दशा लाग्यो’ – भन्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रशंसा गर्दै ‘राप्रपा बाठो भएर समयमा बुद्धि पुर्याएर ठ्याक्क समयमा तालमेलमा आएको’ भन्नुभयो । अध्यक्ष ओलीले ‘नेपालमा कुनैपनि पार्टी एमालेसँग लड्न सक्ने हैसियतमा नरहेको भन्दैै नेपाली काङ्ग्रेससँग विचार र सङ्गठन सकिएको जिकिरसमेत गर्नुभयो ।

चुनावीसभामा बोल्दै ओलीले काङ्ग्रेस र माओवादीलगायतका गठबन्धन दलहरुप्रति आक्रोश व्यक्त गर्दै ‘नेपाली काङग्रेसको विचार सकिएको र सङ्गठन नभएको’ बताउनु भयो । उहाँले ‘नेपाली काङ्ग्रेसले ढोडको बैसाखी टेकेर हिँडेको छ । एक्लै लड्न गयो भने एमालेले सिध्याउछ भनेर गठबन्धन नामको ढोडको बैशाखी टेकेको’ आरोप लगाउनु भयो । उहाँ ‘काङग्रेसको सिङ फुकालिसकेको छ, गठबन्धन हुँडारको जत्था हो’ भन्नुभयो ।

अध्यक्ष ओलीले उक्त कार्यक्रममा बोल्दै मैले प्रचण्डलाई भनेको थिएँ, दुई तिहाइ दिएको छु भन्दैमा र त्यो दुई तिहाइको दुरुपयोग गरेर एमाले सिध्याउँछु भन्ने कुबुद्धि नपलाओस् है’– नेकपा माओवादी केन्द्रप्रति पनि कटाक्ष अभिव्यक्ति दिनुभयो ।

सोही क्रममा एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीप्रति आक्रोशित हुँदै माधवकुमार नेपालको पार्टी रित्तिइनै सकेको जिकिरसमेत गर्नुभयो । एकीकृत माक्र्सवादी लेनिनवादीले राप्रपा र जसपासँग विभिन्न स्थानमा चुनावी गठबन्धन गरेको छ ।