फाइल तस्वरी


काठमाडौं – बङ्गलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा आज शुक्रबार नेपालले घरेलु टिम बङ्गलादेशविरुद्ध अन्तिम खेल खेल्दैछ । राजधानी ढाकामा भइरहेको साफ यू–१५ महिला च्याम्पियनसिपमा बिएसएसएसके मुस्तफा कमलमैदानमा नेपाली समयअनुसार अपरान्ह ४:१५ बजेदेखि सुरु हुनेछ ।

लगातार तीन जित निकालेको नेपालले आज उपाधिका लागि बङ्गलादेशलाई पाखा लगाउनु पनेए छ । नेपालको राष्ट्रिय यू–१५ महिला टिमसामु ऐतिहासिक उपाधि जितको पर्खाइमा छ । नेपालले बङ्गलादेशलाई हराए वा बराबरी गरे मात्रै पनि नेपालले उपाधि जित्नेछ । तर बङ्गलादेशले उपाधि जित्नका लागि नेपाललाई हराउनै पर्ने हुन्छ ।

साफ यू–१५ महिला च्याम्पियनसिपमा आयोजक राष्ट्र बङ्गलादेश, नेपाल र भुटान गरी तीन टिम मात्र सम्मिलित छन् । यो प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइएको छ । तीन टिममा भुटानमात्रै यस्तो अभागी टिम बन्यो जस्ले सबै चारवटै खेलमा पराजय भोग्नु पर्यो । भुटान आफ्नो सबै खेल गुमाएर स्वदेश फर्किसकेको छ ।

नेपालले खेल जितेर ९ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । नेपालले भुटानलाई ७–०, बङ्गलादेशलाई १–० र भुटानलाई १–० ले पराजित गरेको थियो । बङ्गलादेशले भने दुई जित र एक हारबाट ६ अङ्क बटुलेको छ । भुटानलाई ८–० र ९–० ले पराजित गरेको बङ्गलादेश नेपालसँग भने पराजित भएको थियो । नेपालको गोल अन्तर ९ छ भने बङ्गलादेशको गोल अन्तर १६ रहेछ ।

साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल पहिलो पटक उपाधि चुम्ने सङ्घारमा पुगेको छ । यसअघि २०१९ मा बङ्गलादेशमै भएको तेस्रो संस्करणमा नेपाल तेस्रो भएको थियो र त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । अहिलेसम्म भएका तीन संस्करणमध्ये बङ्गलादेशले दुई र भारतले एक पटक साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपालले आज बङ्गलादेशलाई हराउँदै उपाधि जित्न सके नयाँ इतिहास बन्नेछ । नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।