फाइल तस्वीर

एजेन्सी – अफगानिस्तानमा महिलामाथि अर्को नयाँ प्रतिबन्ध लगाइएको छ । तालिवान सरकारले राजधानी काबुलको कुनै पनि पार्कमा महिलाहरुका लागि प्रवेश गर्न प्रतिबन्ध लगाएको हो ।

यहाँको धार्मिक मामिला मन्त्रालयका प्रवक्ताले पार्कमा महिलाको पुरुषसँगको गलत संगत इस्लामको कानुनविपरीत भएको बताएका छन् । अब महिलाहरू पुरुष आफन्तसँगै आए पनि पार्कमा जान नपाउने मन्त्रालयले जनाएको छ । मनोरञ्जन पार्क सञ्चालक हबिब जान जाजाईले यो प्रतिबन्धपछि उनले आफ्नो व्यवसाय बन्द गर्नुपर्ने बताएका छन् ।

हबिब भन्छन्, ‘हाम्रो कमाइ यहाँ आउने परिवारबाट हुने गर्थ्यो । हामीले ९० प्रतिशत कमाइ गुमाइसकेका छौँ । यहाँ करिब २५० कर्मचारी कार्यरत छन् । हाम्रो कमाइ बन्द भयो भने न त तलब नै दिन सक्छौँ, न त विद्युत् र अन्य कर तिर्न नै सक्छौँ । पार्क बन्द गर्नुको विकल्प छैन ।’ तालिवान सत्तामा आएपछि यी पश्चिमी देशहरूले महिला र बालिकाको अधिकारको संरक्षणको माग गर्दै आएका छन् । पश्चिमी देशका सरकारहरूले तालिवानले महिलामाथिको प्रतिबन्ध नहटाएसम्म तालिवान सरकारलाई मान्यता नदिने बताउँदै आएका छन् ।