बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर कपरकट्टी ताललाई आकर्षक गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो ।

ताल निरीक्षण गर्न पुगेका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार एवं कांग्रेस केन्द्रीय सदस्य खाँणले यस क्षेमा अत्यन्तै पर्यटकीय सम्भावना बोकेको ताल हुनु यहाँको पर्यटन विकासको आधार रहेको जनाउनुभयो । ‘मिनी फेवाताल’ नामले समेत परिचित यो ताललाई स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा विकास गरिने खाँणले बताउनुभयो । ‘यो प्राकृतिक ताल हो, पहिला–पहिला सिंचाईकारुपमा प्रयोगमा आउने गरेको थियो, अब यसलाई पर्यटनसँग जोडेर विकास गरिने छ’, खाँणले भन्नुभयो, ‘कृषि क्षेत्रको सिंचाईसँगै पर्यटक आकर्षण गर्न सकियो भने यसले स्थानीयको आयस्तर मात्रै बृद्धि हुँदैन, मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्नेछ ।’

उहाँले आफूले विगतदेखि नै यो तालको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि काम गर्दै आएको जनाउँदै अबका दिनमा आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाइने बताउनुभयो । ‘लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँसम्म ल्याउने वातावरण सिर्जना गरिनेछ’, उहाँले भन्नुभयो, ‘यसका लागि ताल क्षेत्रमा आवश्यक पूर्वाधार विकास–निर्माणमा कुनै कमी हुन दिनेछैन । समुचित विकास गरी आयआर्जनको माध्यम बनाइने छ ।’

गृहमन्त्री खाँणले ताल क्षेत्रलाई विकास गर्दा स्थानीय यससँग प्रत्यक्ष जोडिने जनाउँदै आयआर्जनका साथै रोजगारी पनि सिर्जना हुने बताउनुभयो । ‘तालको विकास जति गर्न सकिन्छ, त्यती नै स्थानीय लाभान्वित हुनेछन्’, उहाँले भन्नुभयो, ‘हामीले तालको विकास गर्दा पनि स्थानीयलाई लाभ मिल्ने, रोजगारी सिर्जना हुने गरी गर्नेछौं ।’ यहाँ रहेको करिब १५ बिघा सिमसार क्षेत्रफलमध्ये एक किलोमिटर लामो र करिब ३ सय मिटर चौडाइमा ताल फैलिएको छ । तालको गहिराई करिब ५ मिटर छ । प्राकृतिकरुपमा बनेको प्राचीन कपरकट्टी ताललाई उपमहानगरपालिकाले नजिकै रहेको नरैनापुर धामसँग जोडेर पर्यटकीय विकास गर्ने योजना अगाडि सारेको उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

उपमहानगर प्रमुख पाण्डेयका अनुसार भविष्यमा यहाँ होम–स्टे, वनभोज क्षेत्र, स्वीमिङ पूल, चिल्ड्रेन पार्क, बाल उद्यान जस्ता करोडौं लगानीका पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । तालको अहिले गुरुयोजना निर्माणको गरी विकास गर्ने तयारी भइरहेको छ । तालमा डुंगा सयरको व्यवस्था गरिएको छ । वरिपरि फुटपाथसहितको साइकल लेन बनाइएको छ । ताल निरीक्षणको क्रममा गृहमन्त्री खाँणले बोटिङ गरेर तालको पूरै निरीक्षण गर्नुभएको थियो । ‘ताल अत्यन्तै सुन्दर लाग्यो, यसको सुन्दरतामा थप विकसित गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘यसको विकासका लागि मैले सबै किसिमका पहल गर्नेछु, यहाँ एकपटक आएका पर्यटक पटक–पटक आउने वातावरण बनाइने छ ।’