फाइल तस्वीर


किभ – युद्ध लडिरहेको रुसी सेना युक्रेनको दक्षिणी शहर खेरसनबाट फिर्ता भएको छ । मस्कोले खेरसन शहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको हो ।

रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा बोल्दै ‘सेना फिर्ता गर्न सुरु गर्नुहोस्,’ भनि आदेश दिएका थिए । उक्त आदेश पछि रुसी सेना खेरसन शहरबाट फिर्ता हुन लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुसी सेनाका कमाण्डरले खेरसन शहरबाट सेना फिर्ता हुने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने ‘कठिन निर्णय’ प्रस्ताव गरेका थिए । खेरसन शहर रूसले आफ्नो ‘विशेष सैन्य अपरेसन’ को समयमा कब्जा गरेको पहिलो शहरी केन्द्र समेत हो । रुसले गत फेब्रुअरी २४ तारिकदेखि युक्रेनमा सैनिक आक्रमण सुरु गरेको थियो । युक्रेनमा सैनिक आक्रमण गरेपछि मस्कोको सेनाद्वारा नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो ।

युक्रेनका सेनाले हप्तौंदेखि ब्ल्याक सी नजिकैको सहर जाने बाटोमा रहेका गाउँहरू कब्जा गर्दै आएका छन् । खेरसन शहरमा क्रेमलिनद्वारा स्थापित नेताहरूले सर्वसाधारणलाई बाहिर निकालिरहेका छन् । तर, युक्रेनले रुसको यो घोषणालाई ‘शङ्कास्पद’ भनि प्रतिक्रिया दिएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले केही रुसी सेना खेरसन शहरमा रहेको दावी गरेको समाचारमा जनाइएको छ । एजेन्सी