साङ्केतिक तस्वीर

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा आज बिहीबार पनि भूकम्पको धक्का महसुस भएको छ । केहीदिन यता निरन्तर भूकम्प गइरहेको यस प्रदेशमा पर्ने बाजुराको खप्तड छेडे दह गाउँपालिकाको काँडाबाट केही पर पश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेको छ । आज बिहान गएको भूकम्प मङ्गलबार राति गएको भूकम्पकै पराकम्पन हुनसक्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मङ्गलबार मध्यरात २ बजेर १२ मिनेटमा पनि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियो । उक्त भूकम्पको कारणले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।