पत्रपत्रिकाबाट

काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ । भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण रूपमा बन्द गरिने जानकारी दिनुभयो । भारतसँग जोडिएको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका दुई सय र चीनसँगको सिमाना सुरक्षाका लागि आठवटा ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रको सुरक्षा मजबुतीका लागि केन्द्रबाट थप सुरक्षाकर्मी पठाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । (गोरखापत्र दैनिकबाट)