विराटनगर – प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रदेश सरकारले भोलि (बिहीबार) शोक बिदा दिने निर्णय गरेको छ । मन्त्री थापाको आज बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ५६ वर्षीय थापा मोरङ ३ को ’क’ मा काङ्ग्रेसबाट प्रदेशसभा सदस्यमा उम्मेदवार पनि हुनुहुन्थ्यो ।

प्रदेश सरकारले बिहीबार एक दिन आधा झण्डा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिनुभयो । थापा पछिल्लो समय निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो । अस्वस्थ भएपछि थापालाई सुरुमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर, स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि ह्याम्स अस्पतालले मन्त्री थापालाई डिस्चार्ज गरेको थियो । विराटनगर फर्किएपछि फेरि स्वास्थ्यमा समस्या आएपछि थापालाई नोबेल अस्पताल भर्ना गरिएको थियो ।