काठमाडौं – साताको चौथो कारोवार दिन आज बुधबार नेप्से परिसूचकमा ३९ दशमलव १५ अङ्कको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयसम्ममा झण्डै ४० अङ्कले घटेर बन्द भएको हो । उच्च अङ्कको गिरावट आएसँगै नेप्से परिसूचक १ हजार ९ सय १७ अङ्कमा पुगेर रोकिएको छ ।

यस्तै, आज सेन्सेटिभ समूहमा ७ दशमलव ६८ अङ्कको गिरावट आएको छ । २ प्रतिशतले घटेसँगै यो समूहको परिसूचक ३७६ दशमलव ५३ अङ्कमा पुगेर रोकिएको छ । यसक्रममा आज ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएर १ अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर परिसूचक उच्च अङ्कले घटेको दिन सबै समूहमा गिरावट आएको छ । यीमध्ये जीवन बीमा समूहमा १९९ अङ्कको गिरावट आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा १४४ अङ्कको गिरावट आउँदा उत्पादनमूलक समूह १३६, लघुवित्त समूहमा ११९ र विकास बैंक समूहमा ११० को गिरावट आएको छ ।

यता वित्त समूह ७७ अङ्कले घट्दा जलविद्युत समूहमा ५३ अङ्कको गिरावट आएको छ । यस्तै, बैंक, व्यापार, होटल र टुरिजम, अन्य, म्यूचुअल फण्ड र लगानी समूहमा समेत गिरावट आएको छ । सेयर बजार उच्च अंकले घटेको दिन अप्पर हेवाखोला जलविद्युत आयोजनाको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ । यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशतको वृद्धि आएको छ । यससँगै, प्रति कित्ता २७ रुपैयाँले बढेर सेयर मूल्य ३९१ रुपैयाँ पुगेको छ । यस्तै, आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ । यससँगै, प्रतिकित्ता २६ रुपैयाँले घटेर कम्पनीको सेयर मूल्य ३०१ रूपैयाँ पुगेको छ ।