फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा मध्यराति गएको भूकम्पमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् माकेका अध्यक्ष प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै घाइतेको उद्धार, राहत तथा पुनःस्थापना र प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सङ्घ र प्रदेश सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जात फेसबुकमा ‘प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, सङ्घीय सरकारसँग अपिल गर्न चाहन्छु’– भनि उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।

सुदूरपश्चिमको डोटी जिल्लालाई केन्द्रबिन्दु बनाएर मङ्गलबार मध्यरात २ बजेर १२ मिनेटमा भूकम्प गएको थियो । भूकम्पका कारण घरहरू भत्कँदा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइत भएका छन् ।