फाइल तस्वीर


बारा – आसन्न प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवारी दिएका बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार इच्छाबहादुर वाग्लेलाई एमाले परित्याग गरेका प्रभु साह र बद्री न्यौपानेले निर्वाचनमा साथ दिने भएका छन् । बारा जिल्लाको फेटा गाउँपालिकामा आज मङ्गलबार संयुक्त क्षेत्रीयसभा आयोजना गर्दै साह र न्यौपानेले स्वतन्त्र उम्मेदवार वाग्लेलाई समर्थन गरेको हुन् ।

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेकपा एकीकृत समाजवादीका पूर्व श्रममन्त्री कृष्णकुमार श्रेष्ठ(किसान श्रेष्ठ) सत्ता गठबन्धनका उम्मेदवार बनेका छन् । काङ्ग्रेस नेता वाग्लेले पार्टीले आफुलाई टिकट नदिएपछि गठबन्धनका उम्मेदवारविरुद्ध वाग्लेले स्वतन्त्र उम्मेदारी दिएका थिए । उक्त निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट पूर्व श्रममन्त्री श्रेष्ठ र एमाले–जसपाको गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार रहेका छन् ।

यहाँबाट नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार थिए । तर सत्ता गठबन्धनको भागबण्डामा बारा–४ एकीकृत समाजवादीको भागमा परेपछि पूर्व श्रममन्त्री श्रेष्ठले टिकट पाए । सत्ता गठबन्धनमा भाग मिलाउँदा नेपाली काङ्ग्रेसले एकीकृत समाजवादीलाई सो क्षेत्र छाडेको थियो । आफ्नो पार्टीले टिकट नदिएपछि रुष्ट भएका काङ्ग्रेस नेता वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

तिनै वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साह र बद्री न्यौपानेले साथ दिने भएका छन् । एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि रुष्ट भएका साह र न्यौपाने दुवै मिलेर एमाले परित्याग गरेका थिए । यी दुवैले ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका छन् । उक्त निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवार वाग्लेविच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधार मान्दा बारा क्षेत्र नम्बर ४ मा नेकपा एमाले पहिलो पार्टी हो । कांग्रेस दोस्रो र लोसपा तेस्रो पार्टी हो भने नेकपा एकीकृत समाजवादी छैटौं स्थानमा थियो ।