काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पिकेले शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् । ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन् ।

पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने बताएका थिए । बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ । ‘मैले सधै भनेको छु । बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् । पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए । पछि म्यानचेस्टर पुगेका थिए । सन् २००७–०८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए ।

यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन् । जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ । पिकेले स्पेनबाट १०२ खेल खेलेका छन् । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए ।