फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो गृहजिल्ला डडेल्धुरामा पुगी चुनावी कार्यक्रममा व्यस्त हुनुभएको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका देउवा बुधबार काठमाडौंबाट धनगढी जानुभएको थियो । हिजो बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गर्नुभएका देउवा चुनावी सभामै व्यस्त बन्नुभएको छ ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले भोलि कात्तिक १९ गते शनिबार बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ कात्तिक २० गते आइतबार काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको बताइएको छ ।