दोहा – रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । विगत १५ वर्षदेखि साउदी अरबको जेलमा रहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्डको सजाय दिइएको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिनुभयो ।

यहाँको जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको सचिव आचार्यले बताउनुभयो । दूतावासलाई समेत जानकारी नदिई उनलाई मृत्युदण्डको सजाय दिएको र शव साउदीको जमिनमा गाडिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो ।

२००६ मा साउदी अरब पुगेका उनी, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे । उनले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो । पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । विष्टको परिवारबाट माफी भए पनि उपचारपछि स्वदेश फर्किएका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएपछि उनीलाई मृत्युदण्ड दिइएको हो । उनीमाथि पशु करणीको पनि मुद्दा थियो ।

यसअघि नेपाल भ्रमणमा आएका साउदीका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा परराष्ट्रमन्त्री नारायण खड्काले साउदीमा मृत्युदण्डको सजाय सुनाइएका सन्तबहादुर पुन र विवेक दाहाललाई आममाफी दिएर जीवनरक्षा गरिदिन आग्रह गर्नुभएको थियो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका सन्तबहादुर पुन अझै त्यहाँ मृत्युदण्ड कुरेर बसिरहेका छन् भने दाहाललाई मृत्युदण्ड दिइएको छ ।