रुपन्देही – सत्तारुढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले जारी गरेको घोषणापत्रमा उल्लेख गरिएका कुराहरु कार्यान्वयन गर्ने दावी गर्नुभएको छ । लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा.महतले सो दावी गर्नुभएको हो ।

प्रवक्ता महतले आफ्नो पार्टीले काम गर्नसक्ने विषयलाई मात्र घोषणापत्रमा राखेको बताउँदै नेपाली काङ्ग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभै काम गर्नका लागि नै भएको बताउनुभयो । नेता महतले ‘जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने’, भन्दै प्रतिप्रश्न गर्नुभयो । आम निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली काङ्ग्रेसले ल्याउने र पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री बन्नुहुने ठोकुवा गर्नुभयो ।

नेपाली काङ्ग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता महतले आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा धेरै सिटमा जित हासिल गर्ने र काङ्ग्रेसकै नेतृत्वमा आगामी सरकारबन्ने दावी गर्नुभयो ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा बाहेक अरु केही नभएको भन्दै प्रवक्ता महतले कार्यकर्ता र मतदाताहरुलाई एमालेको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । प्रवक्ता महतले ‘नेपाली काङ्ग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको’ भन्दै ‘हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौं, चल्नसक्ने काम मात्र गर्नेछौं’ भन्नुभयो ।