एजेन्सी – उत्तर कोरियाले बुधबार ’अपरिचित ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत भनेका छन् ।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरबाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ ।

अर्कोतर्फ उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।