फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टिम नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबले एक नम्बर प्रदेशलाई पाखा लगाउँदै सहज जित निकालेको हो ।

समूह ‘बी’ मा रहेको पुलिस क्लबले एक नम्बर प्रदेश टिमलाई सात विकेटले हराउन सफल भएको हो । एक सय तीन रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिस क्लबले १४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

पुलिसको जितमा कुशल भुर्तेलले २८ बलमा ४२, शङ्कर रानाले २९, राशिद खानले अविजित १६ र कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रनको साझेदारी गरेका थिए । बलिङतर्फ भने एक नम्बर प्रदेशका फिर्दोश अन्सारी र कप्तान सिद्धान्त लोहनीले समान १–१ विकेट लिन सफल भए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३५.१ ओभरमा सबै विकेटको क्षतिमा १०२ रन मात्रै बनाउन सक्यो । राम्रो सुरुआत गरे पनि प्रदेश १ ले पुलिसविरुद्ध ठूलो स्कोर बनाउन सकेन ।

एक नम्बर प्रदेशले पहिलो विकेटको लागि ५६ रन बनाएको थियो । पुलिसका ललितनारायण राजवंशीले पाँच विकेट लिन सफल भएका थिए । उनले १० ओभरमा मात्र २६ रन खर्चिँदै पाँच विकेट लिए । त्यस्तै, सागर ढकाल र कप्तान दीपेन्द्रले समान २–२ विकेट लिन सफल भए ।

यसअघि आइतबार भएको पहिलो खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । आजको यो जितसँगै पुलिस क्लबको यो दोस्रो जित हो ।