फाइल तस्वीर

काठमाडौं – भन्सार विभागद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तु आयात र निर्यात दुवै घटेको छ । सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन विलासिताका केही वस्तुुको आयातमा कडाइ गरेसँगै आयातमा कमी आएको हो ।
सरकारले गाडी लगायत केही वस्तुहरुको आयातमा रोक लगाउँदै आएको छ । देशको आर्थिक स्थितमा नकारात्मक प्रभाव नपरोस् भन्नाका लागि सरकारले छोटो समयका लागि केही वस्तुको आयातमा रोक लगाएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आ.व. २०७९/८० को सुरुवाती तीन महिना (साउनदेखि असोज) सम्म आयात निर्यात दुवै घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँको आयात भएको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २० प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो वर्षको तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात ३५ दशमलव ७१ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सो अवधिमा ६५ अर्ब ५२ करोड आठ लाख ३४ हजार रुपैयाँको निर्यात भएको थियो ।

यो अवधिमा आयात र निर्यातमा कमी आएसँगै व्यापार घाटा १३ प्रतिशतले घटेर तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख नौ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ व्यापार घाटा भएको थियो ।

यो तीन महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट दुई खर्ब ४४ अर्ब ७७ करोड ४१ लाख ५७ हजार रुपैयाँको आयात भएकामा २८ अर्ब ९७ करोड २१ लाख १६ हजार रुपैयाँको निर्यात भएको छ ।

सोे अवधिमा चीनबाट ५६ अर्ब ४३ करोड ५४ लाख छ हजार रुपैयाँको आयात भएकामा १६ करोड ४२ लाख ४३ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्क छ ।

सो अवधिमा सबैभन्दा धेरै इन्धन ६७ अर्ब ९३ करोड ८२ लाख ५० हजार रुपैयाँको आयात भएको छ । यस्तै कच्चा पाम तेल नौ अर्ब ९७ करोड दुई लाख रुपैयाँको र कच्चा भटमास तेल नौ अर्ब ५५ करोड ९२ लाख रुपैयाँको आयात भएको छ ।

यस्तै नौ अर्ब २६ करोड ४५ लाख ३२ हजार रुपैयाँको खाद्यान्न, सात अर्ब ६७ करोड १८ लाख रुपैयाँको स्टिल, छ अर्ब ९२ करोड १९ लाख रुपैयाँको आइरन, छ अर्ब ४१ करोड २२ लाख रुपैयाँको रासायनिक मल आयात भएको देखिन्छ ।

सो अवधिमा पाम आयल तीन अर्ब ८९ करोड १७ लाख रुपैयाँको निर्यात भएको छ भने तीन अर्ब सात करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । त्यसैगरी एक अर्ब २६ करोड ६५ लाख रुपैयाँको चिया, एक अर्ब ६८ करोड ३० लाख रुपैयाँको फेल्ट, एक अर्ब २० करोड ६१ लाख रुपैयाँको अलैंची, एक अर्ब १७ करोड रुपैयाँको धागो र एक अर्ब १६ करोड ५६ लाख रुपैयाँको जुस निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्कअनुसार पहिलो तीन महिनामा भन्सार राजस्व ९६ अर्ब ६१ करोड रुपैयाँ सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब २९ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । भन्सार राजस्व सङ्कलनमा झण्डै ३५ प्रतिशतले कमी आएको छ ।

गत वर्षको असोजको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातमा दुवै कमी आए पनि चालू आर्थिक वर्षको मासिक आयात निर्यात बढ्दो अवस्थामा छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात भएकामा भदौमा बढेर दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ पुगेको थियो । साउनको तुलनामा भदौमा एक खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख ८६ हजार रुपैयाँ बढीको आयात हो ।

यस्तै असोजमा यस्तो आयात बढेर करिब चार खर्ब ४३ अर्ब रह्यो । भदौको तुलनामा असोजमा आयात एक खर्ब २७ अर्ब ३९ करोड ८६ लाख ५० हजार रुपैयाँ बढ्यो ।

यस्तै यस वर्षको साउन महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ निर्यात भएकामा भदौ महिनामा बढेर २८ अर्ब ६८ करोड चार लाख ३७ हजार रुपैयाँको निर्यात भएको थियो । असोज महिनामा निर्यात बढेर ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपैयाँ निर्यात भएको विभागको तथ्याङ्कमा देखिन्छ ।

नेपालले १२७ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । यसमध्ये १९ वटा मुलुकसँग नाफा र १०८ मुलुकहरुसँग व्यापार घाटा रहेको छ ।