एजेन्सी – सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै ३ सय जना घाइते भएका छन् । सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै घटनाको बारेमा जानकारी दिएका हुन् ।

शिक्षा मन्त्रालयबाहिर बम विस्फोट भएको हो । उनले पीडितको संख्या बढ्न सक्ने बताएका छन् । राष्ट्रपति हसन शेखले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भन्दै तत्काल स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका थिए ।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन, यद्यपि राष्ट्रपतिले इस्लामवादी समूह अल शबाबलाई दोष दिएका छन् । अल शबाबले भने यसलाई अस्वीकार गरेको छ । सन् २०१७ मा सोही स्थानमा बम विस्फोट हुँदा ५ सय भन्दा बढीको मृत्यु भएको थियो ।