जनकपुरधाम – नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले काङ्ग्रेस र गठबन्धन दललाई जिताउन आफू जनकपुरधाम आएको बताउनुभएको छ । आइतबार बिहान जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ देउवाले जनकपुरधामको छठ हेर्न र सत्ता गठबन्धनका उम्मेदवारको चुनावी अवस्था बुझ्न आएको बताउनुभएको हो ।

नेतृ देउवाले सत्ता गठबन्धनले ४ मंसिरमा हुने निर्वाचनमा ९५ प्रतिशत सिट जित्ने दाबी गर्नुभयो । ‘सत्ता गठबन्धनभित्रका दलका बागी उम्मेदवार धेरैले उम्मेदवारी निष्कृय पारिसकेका छन् । अब केही ठाउँमा बागी कायम हुँदा पनि त्यसले खासै असर पर्दैन,’उहाँले भन्नुभयो ।

नेतृ देउवालाई स्वागत गर्न काङ्ग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि, काङ्ग्रेस सहमहामन्त्री तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादव, लोसपाका नेता अनिल झा, काङ्ग्रेस नेतृ चन्दा चौधरी, रामसरोज यादवलगायत नेताहरू विमानस्थल पुगेका थिए ।