एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । बीबीसीका अनुसार हेलोवीन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड मच्चिएको थियो । नाइट लाइफका लागि लोकप्रिय मानिएको इतेवन क्षेत्रमा हजारौँ मानिस भेला भएका थिए ।

अत्यधिक भिडका कारण स्वास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिरिने क्रममा दुर्घटना भएको बताइएको छ । कोरियन अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा अधिकांश किशोर छन् । कोभिड महामारी रोकथामका लागि लगाइएको प्रतिबन्ध हटाइएपछि सियोलमा पहिलो हेलोवीन कार्यक्रम थियो ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले घटनाको छानबिन गर्न र घाइतेहरूलाई सहयोग गर्न कार्यदल गठन गर्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनाक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वका धेरै नेताहरूले घटनाप्रति शोक व्यक्त गरेका छन् ।