एजेन्सी – रुसले सैनिक परिचालन सकिएको घोषणा गरेको छ । युक्रेनमा आक्रमण जारी रहेका बेला केही समयअघि रुसले सैनिक परिचालनको घोषणा गरेको थियो । दोस्रो विश्वयुद्धयता पहिलोपटक रुसले घोषणा गरेको परिचालनका क्रममा ३ लाख सैनिकलाई तैनाथ गर्ने योजना रहेको थियो । शुक्रबार रुसी रक्षामन्त्री सर्गेई सोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेट गर्दै सैनिक परिचालन सम्पन्न भएको जानकारी गराएका छन् । टेलिभिजनमार्फत् प्रसारित उक्त भेटवार्तामा सोइगुले ३ लाख सैनिक परिचालन गर्ने लक्ष्य पूरा भएको पुटिनलाई जानकारी गराएका थिए ।
साथै उनले ८२ हजार सैनिकलाई लडाईँ भइरहेको क्षेत्रमा पठाइसकिएको समेत पुटिनलाई जानकारी गराएका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोइगुले परिचालनमा सहभागि बाँकी सैनिकहरुले हाल तालिम प्राप्त गरिरहेको पुटिनलाई जानकारी गराएका छन् । सैनिक परिचालनबारे अब थप कुनै कदमको योजना नरहेको समेत सोइगुले स्पष्ट पारेका छन् । जवाफमा पुटिनले परिचालित सैनिकहरुलाई देशभक्ति र देशको रक्षा गर्ने उनीहरुको दृढताका लागि धन्यवाद समेत दिएका छन् ।
यसअघि रुसले सैनिक परिचालनको घोषणा गरेसँगै रुसमा प्रदर्शनको लहर छाएको थियो भने हजारौँ रुसी नागरिकहरु विदेश पलायन भएका थिए । रुसमा सैनिक परिचालनको घोषणालाई निकै विवादास्पद र संवेदनशील मानिएको छ । यसबाहेक परिचालनको सुरुवाती चरणमा परिचालित सैनिकलाई बन्दोबस्ती एवम् हातहतियारको पनि अभाव देखिएको तथा उनीहरुको अनुशासनमा पनि कमीकमजोरी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए ।
भेटवार्ताका क्रममा राष्ट्रपति पुटिन र रक्षामन्त्री सोइगु दुबैले परिचालनका सुरुवाती चरणमा केही ‘समस्या’ देखिएको स्वीकार गरेको जनाइएको छ । यद्यपि बन्दोबस्तीको समस्या हाल समाधान गरिएको सोइगुले पुटिनलाई जानकारी गराएका छन् । जवाफमा पुटिनले रुसले निकै लामो समयबाट सैनिक परिचालन नगरेका कारण केही कमजोरी देखिनुलाई स्वभाविक रुपमा लिएको बताएका थिए । यद्यपि यसबाट पाठ सिकिएको समेत उनले टिप्पणी गरेका छन् ।
गत फेब्रुअरी महिनायता युक्रेनमा सञ्चालन गरिको ‘विशेष सैनिक अभियान’ मा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि रुस सैनिक परिचालन गर्न बाध्य भएको हो । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले सैनिक परिचालन सम्पन्न गरेकोमा आशंका व्यक्त गरेका छन् । रात्रिकालीन नियमित टेलिभिजन सन्देशका क्रममा उनले रुसी सैनिकको तयारी निकै कमजोर रहेको टिप्पणी गरेका छन् । यसबाट युद्धमा होम्न रुसलाई चाँडै नयाँ जनशक्ति चाहिने समेत आफूहरुको अपेक्षा रहेको जेलेन्स्कीको टिप्पणी छ ।
अर्कोतर्फ अमेरिकाले युक्रेनलाई थप २७ करोड ५० लाख अमेरिकी डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ । नयाँ अमेरिकी सहयोगमा अमेरिकी रक्षा प्रशासन पेन्टागनको सञ्चितीमा रहेका हतियार, गोलिगठ्ठा र अन्य सैन्य उपकरण समेत रहेको रोयटर्सले जनाएको छ । यससँगै अमेरिकाले हालसम्म युक्रेनलाई १८ अर्ब ५० करोड डलर बराबरको सैन्य सहयोगको घोषणा गरिसकेको छ । त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई थप परिपक्व हवाई प्रतिरक्षा प्रणाली सहयोग गर्ने विषयमा पनि तयारी भइरहेको जनाएका छन् । उनले ‘नासाम्स’ नामक हवाई प्रतिरक्षा प्रणाली युक्रेनतर्फ पठाउने विषयमा काम भइरहेको जनाएका हुन् । यसबाहेक अमेरिकाका साझेदारहरुसँग रहेका हवाई प्रतिरोधी प्रणाली पनि युक्रेनलाई सहयोग गर्ने विषयमा अमेरिकाले काम गरिरहेको उनको भनाइ छ ।