सुर्खेत – कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।
उक्त बम विष्फोटमा परी सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका छन् । घटनामा घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको प्रहरीले जनाएको छ ।

घाइते बालबालिकाको अवस्था गम्भीर नै छ । कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे अहिलेसम्म कुनै जानकारी नभएको र सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।