फाइल तस्वीर ।

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदी अरेबियाको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँ विदेशमन्त्रीले बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल शुरु भएको केही दिनपछि साउदी अरेबियाको भ्रमण गर्ने अपेक्षा गरिएको हो ।

राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक र बेइजिङबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा गरेका छन् । ‘हाम्रो आजको बैठक महत्वपूर्ण समयमा भएको छ, यो चिनियाँ राष्ट्रपतिको राज्यको अपेक्षित भ्रमणअघि भएको हो’ राजकुमार फैसलाले अल अरेबिया टिभी च्यानललाई भनेका छन् ।

साउदी अरेबियाले चीन र अरब देशहरु बीचको शिखर वार्ताका लागि पनि ‘अन्तिम प्रबन्ध’ गरिरहेको, उनले थप जानकारी दिएका छन् । गत हप्ता आफ्नो एक दशकको सत्ता विस्तार गरेका सीले सेप्टेम्बरमा कजाकिस्तान र उजबेकिस्तानको भ्रमण गरेका थिए । उनले चीनमा कोरोनाभाइरस महामारीको शुरु भएयता पहिलो पटक सो भ्रमण क्रममा चीन छाड्नु भएको थियो ।

साउदी अरबमा रहेको चिनियाँ दूतावाससँग एएफपीले सीको अपेक्षित भ्रमणको बारेमा जानकारी लिन खोज्दा केही टिप्पणी नगरिएको समाचारमा जनाइएको छ । यसैबीच चीनको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।

ओपेक कार्टेलले वाशिङ्गटनको अनुरोधलाई बेवास्ता गर्दै तेल उत्पादनमा कटौती गरेपछि साउदी अरेबिया र लामो समयदेखिको सहयोगी संयुक्त राज्य अमेरिका बीचको तनावपूर्ण सम्बन्धको समयमा यो सम्भावित भ्रमण हुन लागेको बताइएको छ । (रासस÷एएफपी)