व्यास नगरपालिका–१० बैरेनी दरै सङ्ग्रालयको लागि बनाइएको घुमाउने घर ।
पत्रपत्रिकाबाट
तनहुँ – तनहुँमा घुमाउने घर देख्ने बित्तिकै दरै जातीको घर हो भन्ने पृथक् पहिचान गुम्ने खतरा भएको छ । दरै समुदाय परम्परागत घुमाउने घर बनाउन छाडेका छन् । आधुनिक घर बने बन्न थालेपछि हाल घुमाउने (बाटुले) घर विरलै देखिन्छ । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् । केही वर्ष अघिसम्म जिल्लाका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक–दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा सहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँ गाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् ।

घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने खतरा बढ्दै गएको छ । आधुनिक शैली भित्रिएसँगै पुरानो शैलीका संरचना भत्काउँदै गर्दा परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेको सरोकारवाला बताउँछन् । ‘‘केही वर्ष अघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन्’’ व्यास नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले भन्नुभयो, संरक्षण गर्न र भावी पुस्ताबारे जानकारी दिन दरै सङ्ग्रहालय निर्माण गरिएको छ । घुमाउने घर र बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको उहाँ बताउनुहुन्छ । घुमाउने घर बन्न छाडेपछि विरलै मात्रै देखिने गरेको छ । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् ।

परम्परागत गोल घर लोप हुँदै गएपछि जिल्लाका पर्यटकीय गाउँमा भने संरक्षण गरिएको छ । पर्यटकीय आकर्षणका लागि व्यास नगरपालिका–१० दुम्सी, दरै गाउँ, बन्दीपुरको धरम पानी र आँबुखैरेनी गाउँपालिकाको हिली खर्क गाउँमा एक–एक बाटुले घर संरक्षण गरिएको छ । घुमाउने घर फ्याट्टफुट्ट मात्रै देखिएको र हालका पुस्तालाई आधुनिक घर प्रति रुचि धेरै भएकाले संरक्षण गर्न कठिन भएको आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले जानकारी दिनुभयो । केही समय पहिले सम्म घुमाउने घरमा दरै, कुमाल लगायत अन्य केही जातिहरु बस्दै आएकोमा हाल उनीहरू पनि बस्न छाडेको अध्यक्ष वसुन्धरा बताउनुहुन्छ । दरै जाति केवल गोलो घरमा मात्रै बस्ने गरेकोले उनीहरूको विशेष पहिचान भएको र हाल उनीहरूले पनि प्रयोग गर्न छाडेकाले लोपको सङ्घारमा पुगेको उहाँ बताउनुहुन्छ । ‘‘नयाँ पुस्तालाई जानकारी दिनको लागि मेला महोत्सवमा नमुना घुमाउने घर बनाएर पर्दशनी गर्ने गरिएको छ ’’ घर्तीले भन्नुभयो । सहरी क्षेत्रमा परम्परागत शैलीका घर तथा भवन पटक्कै देख्न पाइँदैन । पछिल्लो समय ग्रामीण भेगमा पनि परम्परागत शैलीमा निर्माण भएका संरचना भेटाउन मुस्किल हुन थालेको भादगाउँ दरै समाजले जनाएको छ ।

आधुनिक शैली भित्रिएसँगै पुरानो शैलीका संरचना भत्काउँदै गर्दा परम्परागत घुमाउने घर लोप हुने अवस्थामा पुगेको समाजको कोषाध्यक्ष वीरबहादुर दरै बताउनुहुन्छ । घुमाउने घर वातावरण मैत्री र वास्तु शास्त्र अनुकूलको भएकोले संरक्षण गरिनु पर्ने दरै बताउनुहुन्छ । पूर्व र पश्चिम घरको धुरी हुने भएकोले उदाउँदा र अस्ताउँदा पनि सूर्यको किरण घरमा पर्ने, घरको छानो र रातो माटोले लिपपोत गरिएकोले गर्मीमा शीतल जाडोमा न्यानो हुने विशेषता भएको दरै बताउनुहुन्छ । दरैका अनुसार दरै समुदायको घुमाउने घरमा माथिल्लो तलामा अन्नपात राख्ने त्यसको मुनि चार वटा कोठा हुन्छ । पूर्व र उत्तरतिर दुई वटा ढोका हुने भएको वास्तु शास्त्र अनुसारमा उपयुक्त भएको दरै बताउनहुन्छ । खाना पकाउने एक, दुई वटा सुत्ने, धान, मकै, कोदो कुटानी पिसानीको ढिकीर कोठा हुने दरैले जानकारी दिनुभयो । घुमाउने घरको विशेषता बारे जान्न केही समय पहिला अमेरिकी नागरिकहरू भादगाउँमा आएको उहाँले स्मरण गर्नुभयो । ‘‘पहिला भादगाउँस्थित दरै बस्तीमा सबै गोलो घर थिए अहिले एउटा पनि छैन कसैले बनाउँदैनन्, पुरानो घरलाई जोगाउन सकिएको छैन’’ दरैले भन्नुभयो ।

जिल्लामा दुई दशक अघिसम्म पनि सयौँको सङ्ख्यामा रहेका घुमाउने घर अहिले औँलामा गन्न सकिने मात्रामा छन् । कतिपय गाउँमा पुराना खरले छाएका घुमाउने घरलाई मर्मत गरी ढुङ्गा तथा टिनले छाएर राखिएको छ भने कतिपय गाउँमा नमुनाको रूपमा ढलान गरी राखिएको छ । दरै समुदायको पहिचान लोप हुन लागेकाले व्यास नगरपालिका–१० बैरेनीका भेषबहादुर दरै ६० वर्ष पुरानो पुर्ख्यौली आवासको संरक्षणमा जुट्नु भएको छ । खाडी मुलुक मलेसिया, कतार र साउदीअबर रोजगारी गरेर आएपछि पनि उहाँले विदेशको देखासिकी आधुनिक घर बनाउनु भएन । पारिवारिक चाहाना त गाउँ ठाउँमा आधुनिक घर बनाउने नै थियो संस्कृति बोकेको जलवायु मैत्री घरलाई लोप हुन नदिन मौलिक शैलीमा नै सबलीकरण गर्दै भेषबहादुर र उहाँको परिवार मौलिक घुमाउने घरमा बस्नु भएको छ । ‘‘घुमाउने घर स्वास्थ्यका लागि ठिक, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकोले आधुनिक बनाएको छैन’’ दरैले भन्नुभयो । विदेशमा एयर कन्डिसन जडान गरिएका आधुनिक महल भन्दा जलवायु मैत्री घुमाउने घरमा बस्दा आनन्द लागेको उहाँले बताउनुभयो । गाउँमा सबैले पुरानो घर भत्काएर आधुनिक सिमेन्टको घर बनाए पनि दरैको एक मात्र घुमाउने घर रहेको छ । भेषबहादुरको आमा सुक माया दरै ६० वर्ष पहिला नै बनेको घरमा बसेको जानकारी दिनुभयो । लिपपोत गर्ने छाउन प्रयोग हुने डाँडा भाटा र खरलाई बेलाबेलामा परिवर्तन गरेर बसिरहेको बताउनुभयो ।

‘‘आमा यो घर नभत्काउनु है भन्छन् सबैले आरसिसी घर बनाए पनि मैलै बनाएको छैन’’ शुकमायाले भन्नुभयो । सिमेन्टले बनाइएका घर जाडोमा चिसो धेरै हुने र महँगो पनि हुने भएकोले नबनाएको उहाँले बताउनुभयो । दुई वटा ढोका भएको घरभित्र चार वटा कोठा रहेका छन् त्यही घरमा दरै परिवार बस्दै आई रहेका छन् । लोपोन्मुख रहेको घर संरक्षणको लागि धेरै प्रयत्न गर्नेलाई स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नुपर्ने दरै बताउनुहुन्छ । पहिचान नै गुम्ने भएकाले मद्दत गर्नुपर्ने धारणा दरैको छ । जनशक्ति अभावमा घरको संरक्षण गर्न कठिनाइ सुक माया बताउनुहुन्छ । ‘‘बुढापाकाले छाना छाउनको लागि माथि उक्लिन नसक्दा पनि काममा लगाउनु परेको छ युवाहरूले नसिकेकाले समस्या परेको छ’’ शुकमायाले भन्नुभयो । चोयाले बाँधेर डाँडा भाटा तयार गर्न र खरले छाउनको लागि ६, ७ वटा गाउँमा पुगेर बुढापाकाहरू ल्याउनु परेको शुकमायाले जानकारी दिनुभयो । ‘‘टिनको छाना, ढलान गरिएका घरमा बढी गर्मी हुन्छ त्यसैले यहीलाई मर्मत सम्भार गरी बसेका छौँ भेषबहादुरले भन्नुभयो, गर्मीबाट राहत पाउन माटोबाट बनेको घर उपयुक्त विकल्प हो’’ दरैले भन्नुभयो । (गोरखापत्र दैनिकबाट)