बेइजिङ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा पुनः सि जिनपिङ चयन भएका छन् । सो पार्टीको २०औं महाधिवेशनले जिनपिङलाई पुनः महासचिवमा चयन गरेको हो । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गत १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय समेत गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यस्तै, महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । यसै महाधिवेशनबाट उच्च तहका चारजना नेता (यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका) ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

६९ वर्षीय राष्ट्रपति सीले भने आफूलाई तेङ स्याओपिङयताको सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित गरेका छन्। दुई कार्यकाल मात्र राष्ट्रपति बन्ने परम्परा तोड्दै सी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भोलि आइतबार नयाँ केन्द्रीय समितिको पूर्ण बैठकले नयाँ पोलिट्ब्युरो र स्थायी समितिको टुङ्गो लगाउनेछ ।

त्यसपछि सीले स्थायी समितिका सदस्यहरुसहित पत्रकार सम्मेलन गर्नेछन् । सबैभन्दा वरिष्ठ कूटनीतिज्ञ याङ चिची र उपप्रधानमन्त्री लिउ हेको नाम पनि नयाँ केन्द्रीय समितिमा छैन । तर, ६९ वर्ष पुगिसकेका विदेशमन्त्री वाङ यी भने सूचीमा छन्। यसको अर्थ उनको पोलिट्ब्युरोमा बढुवा हुनेछ र विदेश मामिला उनैले हेर्नेछन् । एससीएमपी