फाइल तस्वीर
एजेन्सी – श्रीलङ्काको संसद्ले कार्यकारी राष्ट्रपतिका केही अधिकारहरू कटौती गर्ने गरी संविधानको २२ औं संशोधन पारित गरेको छ । संसदबाट दुई तिहाई बहुमतले पारित भएको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन् । जम्मा १७४ सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक मत परेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिररले उल्लेख गरेको छ ।

त्यस्तै, एक जना सदस्यले मतदान प्रक्रियामा सहभागिता नजनाएको डेली मिररले जनाएको छ । सन् १९४८ मा बेलायती शासनबाट मुक्त भएयताकै सबैभन्दा खराब आर्थिक एवम् राजनीतिक सङ्कटको सामना गरिरहेका बेला श्रीलङ्काली संविधान संशोधन गरिएको हो ।

मुलुकमा विदेशी मुद्रा सञ्चितिको चरम अभावले इन्धन अभाव, विद्युत कटौती र खाद्यान्नको मूल्यवृद्धिले अर्थतन्त्र टाट पल्टिएको छ भने जनतामा चरम निराशा र आक्रोश कायम छ ।