फाइल तस्वीर

काठमाडौं– विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तीज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो ।

अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए । उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गरे ।

तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने गर्दछ । दशैँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको छ । उनले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास व्यक्त गरे । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखेपनि चासो नदिएको गुनासो गरे ।

सुनचाँदीको कारोबार तिहारको पहिलो दिन धनतेरसमा सबैभन्दा बढी कारोबार हुने गरेको छ । सुनचाँदीको सामान १० दिन अगाडि अर्डर गर्ने र धनतेरशको दिन किन्ने गर्दछन् । धनतेरसको दिन अन्य वर्षभर हुने जस्तो भन्दा धेरै सुनचाँदीको कारोबार हुन्छ । सुनचाँदीको गहरगहना किन्ने मानिसहरुको सुन पसलहरुमा भीड लाग्ने गर्छ । व्यापार पनि धनतेरसको दिन नै सबैभन्दा बढी हुन्छ । पछिल्लो समय नेपाली बजारमा तरलता अभाव भएको भन्दै नेपालीहरुसँग नगद अभाव भएको भनिए पनि बजारमा लाखौंको कारोबार भने भइरहेको छ ।