फाइल तस्वीर
एजेन्सी – अफगानिस्तानमा शासन गरिरहेको तालिवानको विशेष दस्ताले राजधानी काबुलमा प्रतिद्वन्द्वी लडाकु समूह इस्लामिक स्टेट (आईएस) का सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरेको छ । आक्रमणमा छ जना लडाकु मारिएको तालिवानको नेतृत्वमा रहेको कार्यवाहक अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार सञ्चार माध्यमहरुलाई बताएका छन् ।

प्रवक्ता मुजाहिदका अनुसार इस्लामिक इमिरेटको विशेष एकाइहरूको बलले हिजो आईएस लडाकुहरूको लुकेको ठाउँ पत्ता लगाई दुई जना लडाकुहरू पक्राउ गरेको थियो । अफगानिस्तानमा शासन गरिरहेको तालिबानले आफूलाई इस्लामिक इमिरेट भनी चिनाउने गरेको छ । मारिएका केही लडाकुहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न रहेको जनाइएको छ । ती आक्रमणमा केही हप्ता अघि दर्जनौं मानिसहरूको ज्यान गएको थियो ।

मुजाहिदले कारवाहीका क्रममा एक सुरक्षाकर्मी पनि मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् । अफगानिस्तानमा आईएस समूह विरुद्ध तालिवानको यो दोस्रो कारवाही हो । केही दिन अघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले गरेको यस्तै कारवाहीमा पाँच आईएस लडाकु मारिएका थिए ।