पत्रपत्रिकाबाट

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो ।

खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ । वातावरण पत्रकार समूहद्वारा कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताए । जलवायु परिवर्तनका कारण हुने अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र जनसङ्ख्यामा देखिन थालेकाले सम्मेलनमा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठानुपर्ने देखिएको उनले स्पष्ट पारे । (गोरखापत्र दैनिकबाट)