काठमाडौं – लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरीका ४२ वर्षिय मुकेश मालीलाई लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्ट हाउसमा बस्ने गरेका विभिन्न ब्यक्तिहरूका रेकर्डेड अश्लिल भिडियो फेला पारी आइफोन १२ प्रो म्याक्स फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।