पत्रपत्रिका
काठमाडौं – आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ ।

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले निकै चर्चा पाएको थियो। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर संयुक्त रूपमा आयोजना गरिएको भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन्।

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताए । उनले भने, “हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ ।” (गाोरखापत्र दैनिकबाट)