काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजारमा एक अङ्कको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १ दशमलव ३८ अङ्कले घटेर १८४४ दशमलव १४ अङ्कमा बन्द भएको हो ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ० दशमलव ०९ अङ्कले वृद्धि भएर ३६३ दशमलव ०५ अङ्कमा बन्द भएको छ । नेप्सेमा सामान्य गिरावट हुँदा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका छन् । जसले गर्दा बजारमा कारोबार रकम पनि न्यून हुँदै गएको छ ।

आज बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ । जसमध्ये अभियान लघुवित्तको सवार्धिक ३ करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको २ करोड ६७ लाख ५४ हजार र एभरेष्ट बैंकको २ करोड ४९ लाख ५ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै बिन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४ दशमलव ३७ प्रतिशत र विशाल बजार कम्पनीको सेयर मूल्य ४ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ ।

यता सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ७ दशमलव ७३ प्रतिशतले गिरावट हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ७ दशमलव ६७ प्रतिशत र अभियान लघुवित्तको सेयर मूल्य ६ दशमलव ५९ प्रतिशतले गिरावट भएको छ ।