फाइल तस्वीर

कास्की – गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।

महानगरले समापन समारोहमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।
प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ । प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा प्रमुख खेल सञ्चालन भइरहेका छन् ।

राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार समारोहमा आमनगरवासीको उल्लेखनीय सहभागिता रहनेछ । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।