तनहुँ – सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको हो । सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएर मात्रै हिँड्डुल गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।