म्याग्दी – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।

एपीएफले पहिलो सेट २५–१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पारेपछि एपीएफले २–० को अग्रता बनाएको थियो । तेस्रो सेटमा पुलिसले पुनरागमन गर्दै टाइब्रेकमा २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै एपीएफले स्वर्ण पक्का गरेको हो ।

महिला भलिबलमा बागमती प्रदेशले कांस्य पदक जितेको छ । बुधबारै बिहान भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरी बागमतीले कांस्य जितेको हो ।