फाइल तस्वीर

ढाका – बङ्गलादेशको एक शरणार्थी शिविरमा हिंसात्मक आक्रमण हुँदा दुई रोहिङ्ग्या समुदायका नेताको हत्या भएको छ । झण्डै १० लाख शरणार्थी बसोबास गर्ने उक्र शिविरको सुरक्षा अवस्था कमजोर भएको फाइदा लिँदै दश जनाको समूहले उक्त हिंसात्मक आक्रमण गरेको हो ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर बङ्गलादेश प्रवेश गरेर बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेशले आश्रय दिइरहेको छ । उक्त शरणार्थी शिविरका बस्तीहरुमा बेलाबखत हिंसा हुने गरेको र यस्तो गतिविधि बढ्दै गएको अन्तर्राष्ट्रि समाचार संस्थाहरुले जनाएका छन् । गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरेका रोयटर्सले लेखेको छ । ‘एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए । उनीहरुले अर्का ३८ वर्षीय माझी मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अनवरको अस्पतालमा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।

पछिल्लो तीन महिनामा मात्रै बङ्गलादेशी शिविरमा कम्तिमा पनि १४ जनाको रोहिङ्ग्याको हत्या भैसकेको छ । गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।