प्रतिकात्मक तस्वीर

जनकपुरधाम– सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व–पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ । बसका सह–चालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं. ९ का बस चालक दिपक बोहराका ३ वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ ।

उक्त दुर्घटनामा परेर झापाको कामलजुरी गाउँपालिका २ बस्ने ४५ वर्षीया दिलमाया न्यौपाने, कमलजुरी गाउँपालिका २ बस्ने २५ वर्षीया शर्मिला न्यौपाने, मेचिनगर नगरपालिका ११ भैइजन बस्ने २१ वर्षीया सीता राई, मोरङको उर्लावारी नगरपालिका १ बस्ने ४८ वर्षीया कमला रिजाल, मकवानपुर हे.उ.न.पा. ३ बस्ने ३१ वर्षीय रमेश खाति, चितवनको रत्ननगर नगरपालिका १५ बस्ने ४८ वर्षीया सीता विक., काठमाडौँ १४ बस्ने ३६ वर्षीया सुमि सुव्बा, मोरङको पत्थरी सनिशचरे नगरपालिका ३ बस्ने ५५ वर्षीय नारायण प्रसाद खनाल, सुनसरीको रामधुनी नगरपालिका ७ बस्ने ४० वर्षीय कमला काफ्ले, भारतको आशाम बस्ने ३२ वर्षीय सौरब दास र सर्लाहीको हरिवन नगरपालिका ६ बस्ने २९ वर्षीय सोनु अधिकारीको अवस्था सामान्य रहेको र र उनीहरूको उपचार सर्लाहीको अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।