देशकै केन्द्रविन्दु राजधानी, के पूर्व, के पश्चिम, के पहाड, के तराई सबैको गन्तव्य बनिरहेको छ राजधानी काठमाडौं । रोजी रोटी र भविष्यको सपना बुनेर काठमाडौं उपत्यका भित्रिनेको जमात निकै ठूलो छ । राजधानी छिरेपछि केही न केही काम गर्न सकिन्छ भन्ने अभिलाषा तराईका हाम्रा दाजुभाइहरुमा छ । फलफुल, तरकारी साइकलमा राखेर घरघरमा पु¥याए समय र दुःख केही कम गरिदिएका छन् उनीहरुले गृहिणीहरुलाई । बेला बखत घरबाट निस्कने फोहोरजन्य पुराना फलाम, खालि बोतल, बोरा, पत्रपत्रिका, किताव कापी ‘फलाम, खाली सिसि, पूराना कागज’ भन्दै घरघरमा पुगेर सेवा दिइरहेका छन् । कोही जाडो होस् या गर्मी, घाम होस् या पानी, राजधानीको सडक पेटी र गल्लिमा दुई पाङ्ग्रे ठेला गुडाएर पानीपुरी र चटपटे बेच्दै आफ्नो रोजीरोटीको लागि स्वरोजगार बन्दै गर्जो टार्न धम्मरधुर लागेर खटिरहेका हुन्छन् । एक खालको जीवनको राम कहानी नै छ उनीहरुको ।
काठमाडौंमै गएर केही गर्छु भन्ने सपना बुनेर आएका मध्ये एक प्रतिनिधिपात्र हुन रौतहट जिल्लाका गुड्डु दास । गाउँमा बसेर जिन्दगी नचल्ने देखेर १६ वर्षे कलिलै उमेरमा २०४९ सालमा उनी पनि छिरे काठमाडौं, अरु जसरी नै । पेशा व्यवसाय के गर्ने भन्ने चिन्ता त थियो उनलाई यो विरानो ठाउँमा । १५ वर्षे कलिलो उमेरमै विवाह बन्धनमा बाँधिएका गुड्डु घरपरिवार, सन्तानप्रतिको कर्तव्य र जिम्मेवारी अनि उनीहरुको भविष्य । यही कुराले पिरोल्थ्यो गुड्डु दासलाई ।
गुड्डु दासले राजधानीलाई कर्मथलो बनाएको पनि तीन दशक भैसकेछ । उनलाई तीन दशक वितेको तीन दिन जस्दै लाग्छ । घरपरिवार र सन्तानप्रतिको जिम्मेवारी, दैनिकी गुजारा, प्रतिदिनको बढ्दो महङ्गी सन्तानको अनगिन्ति इच्छा, आकाङक्षा पुरा गर्ने सपना बुन्दै काठमाडांै छिरेको पनि तीन दशक बितिसक्यो । के जाडो, के गर्मी, के हिउँद, के वर्षे झरी, राजधानीको व्यक्त सडकको कोलाहल, बटुवाहरुको घुइँचो । सडक पेटीमा थुपारिएका फोहोरको दुर्गन्ध, गाडीको धुवाँ र सडकको धुलोले गर्दा चट्पटे र पानीपुरी बेच्न पनि समस्या त छ नै । तर पनि तीन दशकदेखिको यो जीवनचर्या अझै कति चल्छ थाहा छैन भन्छन् गुड्डु ।
देशमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, तर गुड्डु दासको जीवनमा कहिले परिवर्तन आउन पाएन । के के जातको तन्त्र त आयो, त्यो गरिब र सर्वहारा वर्गको निम्ति केही आएन । आयो त हिजो सडकमा चप्पल पड्काएर माग्ने जस्ता भएर हिडेका नेताहरुलाई आयो । गाला चिल्ला भए, कोट पाइन्ट सुट टाईमा सजिए । चिल्ला सडकमा करोडौंका गाडीमा हुँकिने दिन आयो । तर गुड्डुले जति मिहिनेत गरेपनि कहिले सुख र शान्तिको श्वास कहिले फेर्न पाएनन् । बाटोमा बसेर गरेको व्यापारले जीवन धान्नै धौ धौ छ ।
सडक व्यापारीलाई हेर्ने दृष्टिकोण राम्रो छैन । तर दैनिकी जीवन गुजाराको अर्को उपाय पनि त छैन उनीसँग । पैसा कमाउन सकेको भए अरु नै व्यापार व्यवसाय गर्ने उनको सपनाले कहिले पूर्णता पाएन । सडक पेटीमा बसेर व्यापार गर्नुको पीडा त कति छ कति । कहिले महानगरपालिकाको टोकसो त कहिले कतिपय बटुवाहरुले तुच्छ र असभ्य भाषाले गाली गर्ने । कोही पानीपुरी र चट्पटे खान्छन्, अनि पैसा दिने बेलामा कचकच गर्ने र उल्टै पिटौंला जस्तै गरी झगडा गरेर पैसा नदिने गरेको दुखेसो पोख्छन् गुड्डु ।
बिहानदेखि साँझसम्म यहि ठेलामा रुमलिंदा जेनतेन गुजारा चलाउँदै आएको बताउने गुड्डु चढ्दै गएको उमेर, बढ्दै गएको जिम्मेवारीले रहरभन्दा पनि बाध्यतामा बाँच्न विवश भएको बताउने एउटा प्रतिनिधिपात्र हुन् । सडक व्यापार गर्नु रहर होइन, बाध्यता हो । धुवाँ, धुलो र कोलाहल, पैदलयात्रीहरुको नमीठो व्यवहार दिनहुँ सहनुपर्छ । त्यसमाथि कतिबेला नगर प्रहरी आएर सामान उठाएर लगिदिन्छ पत्तै हुँदैन । रोजगारीका अन्य विकल्प भए सडकमा व्यापार गरेर बस्न कसलाई पो रहर हुन्छ र ? गुड्डु भन्छन् ।
दश जनाको परिवार, त्यही गाडाको पानीपुरी चट्पटेले घरखर्च, बच्चाको पढाइ र आफ्नो गुजारा धानिरहेका छन ्। उनले जति दुःख गरेर भए पनि आफ्नो छोरा छोरीलाई पढाएका छन् । ‘मैले यही फुटपाथ व्यापारबाट दश जनाको परिवार पाल्नुपर्छ । यो बाहेक मेरो अन्य कुनै विकल्प नै छैन । यहाँ काम गर्ने वातावरण महानगरले दिएन भने मेरो त भोकले मर्ने अवस्था आउँछ । हामी विस्थापित भएर पनि कहाँ जाने ?’ महानगरपालिकाले सडकमा व्यापार गर्न नदिएर बेलाबेला लखेटे पनि ट्राफिक प्रहरीले भने आफूलाई निकै सहयोग गरेको बताउँछन् गुड्डु ।
गुड्ड्ले २०७२ सालको भूकम्पको पीडा र कोरोना भाइरस सङ्क्रमणको महामारी पनि यही सडकमा झेले । कोरोना महामारीमा भएको लकडाउनमा उनी ज्यान जोगाउन गृह जिल्ला रौतहट तिर पुगे । कोरोना महामारीका कारण तहसनहस बन्न पुगेको व्यापारले दैनिकी चल्दै बहुत कस्टकर भएको बताउँदै अतितलाई सम्झँदै यसो भन्छन् – ‘गरिब मान्छेलाई धेरै अप्ठेरो छ । कोरोनाको बेलामा सबैले दुई दुई बोरा चामल लगे मलाई भने कसैले दिएनन् । महामारीमा पनि राहत लिन मानवीय संवेदना कसैमा देखिएन । तराई मूलको भएकै कारण आफुले राहत नपाएको पीडा सुनाउँदै गुड्डु भन्छन् –‘यो काङ्ग्रेस होइन । यो कम्युनिस्ट पनि होइन । यो त फोरम पार्टी हो, भनेर हेयको दृष्टिकोणले हेर्दै, ओ फोरम भाई भन्दै सबैले जिस्काए ।’
गुड्डु भन्छन् – ‘मलाई न कुनै दलको राजनीतिप्रति आस्था छ, न कुनै पार्टीको कार्यकर्ता नै हुँ । कस्को पछि लागेर के हुन्छ र ! आफ्नै दुःख र पौरखमा रमाउने मान्छे हुँ’ उनी राजनीति दलहरुप्रति आक्रोश पोख्दै थप्छन् –‘त्यस्तो महामारीको बेलामा मलाई सरकारले पार्टीका आधारमा छुट्याएर दुई बोरा चामल दिएन भने त्यो सरकारको के काम ? अलग पार्टीको मान्छे भनेर राहतसम्म दिएन । गाउँपालिकामा जसको सरकार छ उसैको पार्टीले मात्रै राहत पाउने रहेछ । लकडाउनमा कमाइ भएन, जेनतेन आफ्नो परिवार पाल्ने काम मात्रै भयो ।’
कोरोना महामारी भरी गुड्डु गाउँमै बसे । त्यही बसेर गुजारा गरे । अवस्था अलि सहज भएपछि कर्मथलो काठमाडौँ फर्किए । ‘बर्मा गए कर्मसँगै भने जस्तै उनी राजधानी फिरे, तर समस्या त जस्तोको त्यस्तै ।
कालीमाटीमा डेरा गरेर बसेका गुड्डुले हरेक महिना ३ हजार रुपैयाँ कोठाभाडा बुझाउनुपर्छ। कोरोना महामारीका बेला कमाइ गर्न नपाएका उनको घरबेटी भने असल रहेछन् । उनी भन्छन् – ‘कमाइ छैन, भाडा दिनु पर्दैन, तिमीलाई गाह्रो छ, बिस्तारै कमाएर घर परिवारको हेरचाह गर भनेर ठूलो राहत दिलाइदिनुभयो । हामी जस्ता दुखि गरिबको लागि त यो भन्दा ठूलो सहयोग र गुन केही हुन सक्दैन ।’
मनमा धेरै चाहना छ गुड्डुको । मिठो मसिनो खान र राम्रो लगाउने इच्छा कसलाई हुन्नर ! गुुड्डु आफुसँग जे छ त्यसैमा सन्तुष्ट रहेको बताउँछन् । ‘दुखजेलो गरेर जेनतेन पेटभरी खान सक्ने अवस्थासम्म आइपुगेको छु । तर अन्य फुटकर खर्च गर्ने क्षमता नभएको भन्दै गहभरी आँसु पार्दै गुड्डु भन्छन्– ‘बजारमा राखिएका फलफूलहरु खान मन त लाग्छ, तर मैले कमाएको सबै मैले नै खाएर सकाएँ भने मेरो परिवार भोकै हुन्छ । ’
सडक छेउमा उनको जिन्दगीको धेरै किस्सा जोडिएको छ । विदेश गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा मिहिनेत गर्न उनलाई गर्व लाग्छ । ‘मलाई धेरै जनाले विदेश जान सुझाव दिएका थिए, तर मलाई विदेशभन्दा मेरै देश प्यारो छ। यहीको संस्कार र संस्कृति निकै प्रिय लाग्छ । पछिल्लो समय ‘केही दलालहरुले हाम्रो देशलाई किन्न खोजेका छन्, पृथ्वीनारायण शाहको पालादेखि हामीहरु हिन्दुको सन्तान हौँ, हिन्दु धर्म नै मान्दै आएका छौँ। अरुले किस्चियन धर्म माने पनि हामीलाई आपत्ति छैन । तर, हाम्रो आमामाथि लात हान्न पाइदैँन।’ विदेशीहरुसँग ऋण माग्ने चलन उनलाई पटक्कै मन पर्दैन। उनी भन्छन्, ‘हाम्रो देश विकासका लागि पचास करोड पचास अर्ब विदेशीले दिन्छ। पचास अर्ब पैसा पाए पनि पचपन्न अर्ब पाए पनि हाम्रो स्वाभिमान जोखिममा रहन्छ । पैसासँग आफ्नो स्वाभिमान साटेर कसरी खुसी हुनु?’
गुड्डुको काठमाडौं बसाइको सुरुवाती दिनमा धेरै मानिसले हेप्थे । त्यसो त काठमाडौंमा तराईमूलका मान्छे भनेपछि हेप्ने, होच्याएर बोल्ने ‘मन मखु मस्र्या ख’ मान्छे होइन मधिसे हो सम्म भनेर बोल्थे, हेप्थे, । यसलाई यहाँ बस्न दिनु हुँदैन भनेर पनि भन्थे । उनी काठमाडौंका रैथाने र पहाडियाबाट धेरैपटक लखेटिए हेपिए । तर अहिले समय बदलिएको छ, फेरिएको छ । सम्मानले भैया, तिमी भन्न थालिएको छ तराईमूलका गुड्ड जस्तै नेपालीलाई । गुड्डुको बुझाइमा अहिले वैदेशिक रोजगारीको कारण खराब नियतका केटाहरु विदेश गएर सुध्रिएको उनी बुझाइ छ ।
उनी काठमाडौँको सडकको प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्ता सयौँ जनाले यसैगरी आफ्नो जीवन चलाइरहेका छन् । काठमाडौं महानगरको कानुनले फुटपाथमा व्यापार गर्न निषेध गरेको बताउँदै गर्दा गुड्डुजस्ता आम फुटपाथ व्यापारीको चिन्ताको बिषय एउटै छ । अब कसरी गुजारा चलाउने? सबै फुटपाथ व्यापारीसँग सटर खोलेर पसल चलाउने सामर्थ्य पनि त छैन ।