फाइल तस्वीर


धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागी उम्मेदवारी दिएका नेतालाई पार्टीबाट निष्काशित गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै सुदूरपश्चिम प्रदेश कमिटी पाँच नेतालाई कारवाही गरेको हो ।

एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका नेताहरुमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहित पाँच नेताहरु रहेका छन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीबाट निष्काशन गरेको बताएका छन् ।

सचिव पाठकले बताए अनुसार प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा (१) साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा(२) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए । पार्टीले आधिकारिक उम्मेदवार उठाएता पनि उनीहरुले असन्तुष्टि जनाउँदै बागी बन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।