वासिङटन – अर्थमन्त्री जनार्दन शर्माले हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरका लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन् ।

बिहीबार विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वासिङटन डीसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन् । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसैगरी, अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट अपरेसन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गरेका छन् ।

उक्त भेटघाटमा नेपालमा एमसीसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकाका लागि सहउपाध्यक्ष जोनाथन बु्रकलगायत एमसीसी केन्द्रीय कार्यालयका अधिकारीको सहभागिता थियो ।
यसैबीच, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उनका समकक्षी रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासबीच अमेरिकाको वासिङटन डीसीमा छलफल भएको छ ।

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका गभर्नर अधिकारी र दासबीच भेटघाटका अवसरमा दुई देशको मौद्रिक विषय डिजिटाइजेसन, भुक्तानी, ट्रेड सेटलमेन्टस, सार्क फाइनान्स, रेमिटेन्सलगायत विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाका उच्चपदस्थ अधिकारीको समेत सहभागिता थियो । रासस