एजेन्सी – अष्ट्रेलियाले अध्ययन भिसामा आउने मानिसमाथि पुनः निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ । यससँगै आगामी जुलाईदेखि विद्यार्थी भिसामा जानेले दुई सातामा ४० घण्टाभन्दा धेरै काम गर्न नपाउने भएका छन । अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुको पढाइ र कामको सन्तुलन मिलाउनका लागि भन्दै यो नियम पुनः लागू गरिने बताएको हो ।

यस वर्षको सुरुवातमा अष्ट्रेलियाको सरकारल विशेष औद्योगिक क्षेत्रमा देखिएको कर्मचारी अभाव पूरा गर्न विदेशी विद्यार्थीहरुलाई चाहेजति काम गर्न दिने नियम ल्याएको थियो । गत महिना सरकारले उक्त नियम थप गर्ने निर्णय गरे पनि आगामी जुन ३० पछि भने पुनः विदेशी विद्यार्थीको लागि निश्चित समय मात्र काम गर्न दिइनेछ ।

अष्ट्रेलियाको सरकारले विदेशी विद्यार्थीको लागि भिसा नीतिमा सुधार तथा भिसा प्रोसेसिङ र निर्णयमा हुने ढिलाइ न्यूनीकरणका लागि ३ करोड ६० लाख अष्ट्रेलियन डलरबराबरको बजेट छुट्याउने निर्णय गरेको छ ।